२०८३ मङ्सिर ७ गते सोमवार

चोकको नाम परिवर्तनप्रति वडा अध्यक्ष भण्डारीको आपत्ति, नगरसभाको निर्णय कार्यान्वयन गर्न माग

दाङ । तुलसीपुरको तल्लो बजारस्थित क लाइनको चोकलाई पृथ्वीनारायण चोकका रूपमा नामकरण गर्न लागिएको विषयमा तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारीले आपत्ति जनाउनुभएको छ ।

वडा अध्यक्ष भण्डारीले कानुनी रूपमा जनप्रतिनिधिहरूको नगरसभाले उक्त चोकको नाम नेत्रलाल चोक निर्धारण गरिसकेको भन्दै निर्णयको कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले लोकतन्त्र प्राप्तिका लागि दाङको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याउनुभएका स्वर्गीय नेत्रलाल पौडेल ‘अभागी’को योगदानलाई बिर्सन नहुने उल्लेख गर्नुभएको छ ।

बाहिनी नजिकै रहेकाले स्थानीय जनजिब्रोमा सहजताका लागि बाहिनी चोक भन्ने गरिएको भए पनि कानुनी रूपमा उक्त चोकको नाम नेत्रलाल चोक नै रहेको उहाँको भनाइ छ ।

एउटा सरकारले गरेका निर्णयलाई अर्को सरकारले आफूखुसी परिवर्तन गर्दै जाने हो भने भविष्यमा अहिलेका जनप्रतिनिधिले गरेका निर्णयको पनि त्यस्तै अवस्था आउन सक्ने उहाँले उल्लेख गर्नुभएको छ ।

पृथ्वीनारायण शाहप्रति आफ्नो सम्मान रहेको स्पष्ट पार्दै वडा अध्यक्ष भण्डारीले नामकरण गर्न बाँकी रहेका अन्य चोकलाई पृथ्वीनारायण चोक बनाउन सकिने विकल्प हुँदाहुँदै पहिल्यै नामकरण भइसकेको चोकको नाम परिवर्तन गर्न खोज्नु उचित नभएको धारणा व्यक्त गर्नुभएको छ ।

बाहिनी चोकमा पृथ्वीनारायण चोक स्थापना गर्न आइतबार शिलान्यास गरिएको थियो । पृथ्वीनारायण शाह प्रतिष्ठान, चाँदनी टोल विकास संस्था, जय जीव दर्शन र हाम्रो नेपाल हामी नेपाली लगायतले पृथ्वीनारायण शाहको शालिक स्थापना गर्न लागेका हुन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस