२०८३ मङ्सिर ६ गते आइतवार

हावाहुरी र वर्षातले सल्यानमा डेढ करोडको कृषि उपजमा क्षति


सल्यान । असोज १० गतेको हावाहुरी र त्यसपछिको वर्षात्ले सल्यानमा तरकारी, फलफूल, मकै, धान र टिम्मुरसहित कृषिजन्य उत्पादनमा करिब एक करोड ५० लाख रुपैयाँको क्षति पुर्याएको छ ।

कपुरकोट गाउँपालिका–१ गैरीबाङका किसान धनबहादुर कँवरले चार लाख रुपैयाँ बढीको टमाटर लगायतका तरकारी बालीमा क्षति पुगेको बताउनुभयो । जीविकोपार्जन र आम्दानीको माध्यम बनेको तरकारी, फलफूल, टिम्मुर, मकै र धानबालीमा क्षति पुगेपछि जिल्लाका तीन हजारभन्दा बढी किसान प्रभावित भएका छन् ।

कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख गणेशबहादुर अधिकारीका अनुसार हावाहुरीले कपुरकोटलगायत क्षेत्रमा तरकारी खेतीका लागि बनाइएका २५ वटा फलामे टनेलमा क्षति पुर्‍याएको छ ।

त्यस्तै, ४२ लाख रुपैयाँ बराबरको ११५ मेट्रिक टन ताजा तरकारी, ३४ लाख रुपैयाँ बराबरको ५० मेट्रिक टन सुन्तला र ४० लाख रुपैयाँ बराबरको ३४ मेट्रिक टन किवीमा क्षति पुगेको छ । सुन्तला र किवीका १४० बोटमा समेत क्षति पुगेको उहाँले बताउनुभयो ।

कपुरकोट गाउँपालिका–१ का वडाध्यक्ष बालाराम खड्काका अनुसार हावाहुरीले तीन सयभन्दा बढी किसानले लगाएको ताजा तरकारी र टनेलमा क्षति पुर्‍याएको छ । तरकारी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका किसान बढी प्रभावित भएको उहाँले बताउनुभयो ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनका अनुसार हावाहुरीले पालिकाका विभिन्न स्थानमा तीन हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी, मकैबाली र फलफूलमा क्षति पुर्‍याएको छ ।

हावाहुरीले दुई दर्जनभन्दा बढी सर्वसाधारणका घर र तीन विद्यालयमा पनि क्षति पुर्‍याएको छ । उहाँका अनुसार तरकारी, फलफूल, टनेल, विद्यालय भवन, सर्वसाधारणका घर र बिजुलीका पोलमा गरी एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस