दाङ । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइ ड्याममा डुबेर बेपत्ता भएका २३ वर्षीय अनुप चौधरीको शव २२ घण्टापछि फेला परेको छ ।
घोराही उपमहानगरपालिका–१२ बेलघार निवासी चौधरीको शव शुक्रबार बिहान सशस्त्र प्रहरी बल नेपालको विशेष तालिम प्राप्त गोताखोर टोलीले फेला पारेको हो ।
बिहीबार दिउँसो अन्य छ जना साथीसँगै अर्घुस्थित सिँचाइ ड्याममा नुहाउन गएका चौधरी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनुभएको थियो । घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको थियो । तर, लामो समयसम्म खोजी गर्दा पनि उहाँलाई फेला पार्न सकिएको थिएन ।
त्यसपछि शुक्रबार आज बिहानै बाँकेको शमशेरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणको प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीबाट विशेष तालिम प्राप्त गोताखोर परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा खटिएको गोताखोर टोलीले ड्यामको करिब ३० फिट पानीमुनि माटोमा गाडिएको अवस्थामा चौधरीको शव फेला पारेको हो ।
शुक्रबार बिहान साढे ११ बजेतिर शव फेला पारिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वार्टर ज्वालामाई दाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीले जानकारी दिनुभयो ।
बिहीबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गरे पनि फेला पार्न नसकिएको शव विशेष तालिम प्राप्त गोताखोर परिचालन गरेपछि भेटिएको हो ।


























