दाङ । दाङमा तीन दिनको अवधिमा दुई जनाको पानीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर र घोराहीका दुई जनाको पानीमा डुबेर मृत्यु भएको छ ।
गत मंगलबार (२४ कात्तिक) तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ६ वर्षीय किसन डाँगीको राप्ती नदीमा डुबेर मृत्यु भएको थियो भने बिहिबार घोराही उपमहानगरपालिका–१२ बेलघारका २३ वर्षीय अनुप चौधरीको डुबेर मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइ ड्याममा डुबेर बेपत्ता भएका चौधरीको शव २२ घण्टापछि शुक्रबार फेला परेको हो । चौधरीको शव शुक्रबार बिहान सशस्त्र प्रहरी बल नेपालको विशेष तालिम प्राप्त गोताखोर टोलीले फेला पारेको हो ।
बिहीबार दिउँसो अन्य छ जना साथीसँगै अर्घुस्थित सिँचाइ ड्याममा नुहाउन गएका चौधरी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनुभएको थियो । सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा खटिएको गोताखोर टोलीले ड्यामको करिब ३० फिट पानीमुनि माटोमा गाडिएको अवस्थामा चौधरीको शव फेला पारेको हो ।


























