२०८३ मङ्सिर ७ गते सोमवार

एनपिएल : आज विराटनगरले लुम्बिनीको सामना गर्दै


नेपाल प्रिमियर लिग (एनपिएल)मा आज एउटा खेल हुँदैछ ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार साँझ ५ बजे विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।

दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्दैछन् ।

लुम्बिनीले प्लेअफमा स्थान बनाइसकेको छ ।

उसले खेलेको ६ खेलमध्ये चार खेलमा जित र एक खेलमा अंक बाड्दै तालिकामा ९ अंक जोडेर दोस्रो स्थानमा छ ।

त्यसकारण आज ऊ दबाबरहित हुँदै मैदान ओर्लने छ ।

विराटनगरका लागि भने प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

विराटनगर ६ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

उसले आजको खेल जितेर मात्रै पुग्दैन । लिगका बाँकी खेलको नतिजाले पनि विराटनगर प्लेअफमा पुग्ने नपुग्ने तय गर्नेछ ।

लिग चरणका पूरै सात खेल खेलिसकेको सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज तथा विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ। चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छन् ।

काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ । काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ । तर चितवन र विराटनगरका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब छ ।

अझ विराटनगरका लागि जित निकालेर मात्र पुग्दैन बाँकी दुई टोलीको हारको कामना गर्नु पर्नेछ ।

अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ । आवश्यक अवस्थामा नेट रनरेटले पनि प्लेअफ पुग्ने टोलीको टुंगो लगाउनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस