नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । लुम्बिनी लायन्सले विराटनगर किङ्गसलाई ४ विकेटले पराजित गरेसँगै नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको प्लेअफ समीकरण पूरा भएको हो ।
विराटनगरको हारसँगै काठमाण्डौ गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरेका छन् र विराटनगर भने प्लेअफ दौडबाट बाहिरिएको छ । यसअघि नै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका थिए । यससँगै चार वटै टोलीको टुङ्गो लागेको हो ।
शनिबार भएको खेलमा १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । जितसँगै लुम्बिनी लायन्स अङ्कतालिकाको शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ ।
एनपीएलमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो साढे १२ बजे कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ भने दोस्रो खेल बेलुका ५ बजे काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर्सबीच हुनेछ ।


























