दाङ। दाङमा छिमेकीले पेट्रोल छर्केर आगो लगाएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
राजपुर गाउँपालिका–२ का ४९ वर्षीय रुपलाल चौधरीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार चौधरीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उहाँको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । शनिबार दिउँसो करिब साढे २ बजेतिर राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो । आगोले जलेर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो ।
चौधरीलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो । घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


























