२०८३ मङ्सिर ६ गते आइतवार

विपन्न नागरिकको उपचार सहायताका लागि वडामा अक्षयकोष स्थापना गरिदै


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ले विपन्न नागरिकको उपचार सहायताका लागि अक्षयकोष स्थापना गर्ने भएको छ । वडाले संघिय सरकारले सहयोग दिएका रोगहरुसहित नागरिकको अवस्था अनुसार अन्य रोगको पनि उपचार सहयता उपलब्ध गराउने गरी ‘नागरिक उपचार सहयोग अक्षयकोष’ स्थापना गर्न लागेको हो ।

वडाले अक्षयकोष स्थापनाका लागि रकम संकलनार्थ आउँदो मंसिर ६ गतेदेखि श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ–२०८३ संचालन गर्ने भएको छ ।

आइतबार गरिएको पत्रकार सम्मेलनमा वडा अध्यक्ष माधव वलीले वडाका विपन्न, असहाय तथा बेसहारा नागरिकहरुको उपचार सहायताका लागि अक्षयकोष स्थापनार्थ महायज्ञ संचालन गर्न लागिएको बताउनुभयो । उहाँले महायज्ञबाट न्यूनतम करिब १ करोड संकलन गर्ने लक्ष्य राखिएपनि कोषमा रकम बढाउँदै लैजान सकिने बताउनुभयो ।

‘अक्षयकोषमा शुरुवाती चरणमा धेरै नभएपनि विस्तारै कोषमा रकम बढाउने योजना छ ।’ उहाँले भन्नुभयो–‘मानविय सहयोगको महान कार्यमा सहयोगका लागि सम्पूर्णमा हार्दिक अपिल गर्दछौँ ।’

महायज्ञको प्रमुख कथावाचकमा स्वर्णपदक विभुषित पण्डीत अमृतशरण देवाचार्य रहनुहुनेछ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को वडा कार्यालयको बगैँचा, हेमन्तपुरमा संचालन हुने महायज्ञ मंसिर ६ गतेदेखि १५ गतेसम्म संचालन हुनेछ ।

महायज्ञमा २ लाख वा सो भन्दा माथि सहयोग गर्ने दातालाई सहयोगीदातासहित परिवारका ६ जनाको नाम शिलालेखमा राखिने छ । यस्तै १ लाख वा सो भन्दा माथि सहयोग गर्ने दातालाई शिलालेखमा परिवारका ३ जनाको नाम राखिने आयोजकले जनाएको छ ।

यस्तो छ, उपचार सहायता प्रक्रिया
वडाका विपन्न तथा असहाय व्यक्तिले कोषबाट उपचार सहायता रकम पाउनेछन् । कोषबाट प्राप्त व्याज रकमबाट सहयोग प्रदान गरिने छ । कार्यविधिमा संघिय सरकारले सरकारले सहयोग दिने रोगहरुमा उपचार सहायता प्रदान गरिने छ । त्यसबाहेक अन्य रोगमा पनि गरिब तथा विपन्नको पहिचान गरी सहायता प्रदान गर्न सकिने छ ।

कोषबाट उपचार सहायता पाउनका लागि सिफारिस समितिबाट सिफारिस हुनुपर्ने छ । सिफारिस समिति वडा सदस्यको संयोजकत्वमा तीन सदस्यीय समिति सिफारिस समिति बन्नेछ । समितिमा टोलका अध्यक्ष र नगर स्वास्थ्य केन्द्रका प्रतिनिधि सदस्य रहनेछन् ।

यस्तै वडा अध्यक्षको संयोजकत्वमा सात सदस्यीय कोष परिचालन समिति बन्नेछ । कोषमा वडाभित्रका सदस्य समेटिने छ । कोषमा कम्तिमा २ जना महिला र एक जना दलित समुदायबाट प्रतिनिधित्व गराइने छ । स्वास्थ्य केन्द्र प्रमुख सदस्य सचिव रहनेछन् । कोषको रकम निकासा गर्दा चेकमा तीन जनाको हस्ताक्षर हुनेछ । वडा सचिव, लेखा अधिकृत र कोष परिचालन समितिका एक जना गरी तीन जनाको हस्ताक्षर हुने वडा अध्यक्ष वलीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस