दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ सातबासमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नव ज्योति सांस्कृतिक युवा क्लबको २४औँ वार्षिकोत्सव तथा हरिबोधनी एकादशी धार्मिक मेलाको अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
आयोजकका अनुसार प्रतियोगिता भोली र पर्सी दुई दिनसम्म चल्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिनेछ । जसअनुसार प्रथम हुने टोलीले २५ हजार, द्वितीयले १५ हजार र तृतीय हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीले २ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । टोली दर्ताका लागि मंसिर २ गते बिहान ७ बजेसम्मको समयसीमा निर्धारण गरिएको आयोजकले जनाएको छ।स्थानीय युवाको खेल प्रतिभालाई प्रोत्साहन गर्ने, खेलकुद गतिविधि विस्तार गर्ने तथा भलिबलप्रति आकर्षण बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
यसैबीच, मेला तथा वार्षिकोत्सवको अवसरमा मंसिर ४ गते विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितासम्बन्धी थप जानकारी लिन क्लबका अध्यक्ष धनराज रोका तथा खेल संयोजक अनिल परियारसँग सम्पर्क गर्न सकिने छ ।


























