दाङ । अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा दाङको लमहीबाट भारतीय नागरिकसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मध्य प्रदेश शंकराआचार्य नगर हुजुर सिकन्दरी सराय भोपालका २४ वर्षीय जसवन्त सिंह तोमर, गितानगर भानपुर बस्ने २४ वर्षीय सत्यम राजपुत, २४ वर्षीय हर्ष सिंह भन्ने हर्ष उसरेट र २७ वर्षीय राहुल चन्द रहेका छन् ।
त्यस्तै, डोटीको दिपायल सिलगढी नगरपालिका–३ निवासी ३२ वर्षीय सागर राना पनि पक्राउ परेका छन् ।
प्रहरीले लमही नगरपालिका–५ रातोडाँडास्थित जेस्मिन होटल एण्ड लजको तेस्रो तलामा रहेको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
खानतलासीका क्रममा तीन थान ल्यापटप, विभिन्न कम्पनीका १३ थान स्मार्टफोन र दुई थान कम्प्युटर मनिटर प्रयोग गरी एप्लीकेशनको माध्यमबाट अनलाइन जुवातास तथा सट्टेबाजी खेल्ने खेलाउने गरिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शुक्रबार राति करिब १० बजे अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको हो ।
पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


























