२०८२ फाल्गुन २९ गते शुक्रवार

सरफ बनाउने तालिमको समापन

तुलसीपुर, १३ असार । दाङको तुलसीपुरमा चार दिने सरफ बनाउने तालिमको समापन गरिएको छ। मातृभूमि सामुदायिक सिकाई केन्द्रले महिलाहरूलाई उद्यमशील बनाउने उद्देश्यसहित तुलसीपुर उपमहानगरपालिका–७ सिम्रागाउँमा सञ्चालन गरिएको तालिमको आज (शुक्रबार) समापन गरिएको हो।


समापन अवसरमा बोल्दै तालिममा सहभागी प्रशिक्षार्थी यमुना आचार्यले सरफ बनाउने तालिमबाट आवश्यक प्राविधिक सीप प्राप्त भएकाले अब घरायसी प्रयोजनका लागि सजिलै सरफ बनाउन सकिने बताउनुभयो। उहाँले सिकेको सीपलाई भविष्यमा आयआर्जनसँग जोड्ने योजना पनि रहेको बताउनुभयो।


तालिममा सहभागी अर्की प्रशिक्षार्थी सावित्रि कुमालले सरफ बजारमा सस्तो मूल्यमा खोज्ने उपभोक्ताको प्रवृत्ति रहेको अनुभव सुनाउँदै तालिमबाट उत्पादन लागतअनुसार मूल्य फरक हुने जानकारी प्राप्त गरेको बताउनुभयो। उहाँले १२ प्रकारका कच्चा पदार्थको मिश्रणबाट सरफ तयार गर्न सकिने प्राविधिक ज्ञान सिक्न पाएको र अब प्राप्त सीपलाई व्यवसायिक रूपमा अघि बढाउने योजना रहेको बताउनुभयो।

तालिमकी प्रशिक्षक टिका कुमारी गौतमले तालिमको अवधि छोटो भएकाले सिकेका सीपलाई निरन्तर अभ्यासमार्फत मात्र दक्षता हासिल गर्न सकिने बताउनुभयो। उहाँले महिलाहरूमा रहेको उत्साह र सहभागिता सकारात्मक रहेको उल्लेख गर्दै सिकाइलाई दीर्घकालीन रूपमा व्यवहारमा उतार्न अभ्यासलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

मातृभूमि सामुदायिक सिकाई केन्द्रका अध्यक्ष निमकान्त आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष जिसीले महिलाहरूलाई सिपमूलक तालिममार्फत आत्मनिर्भर बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले यस्तो तालिमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै महिला सशक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

साथै वडा कार्यालय सधैं यस्ता कार्यक्रमप्रति सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थाका सल्लाहकार नारायणकुमार आचार्य, सिम्रागाउँ टोल विकास संस्थाका अध्यक्ष कमानसिङ विक लगायत सहभागीले सिपमूलक तालिमहरूले महिलाको जीवनस्तर सुधार गर्न, स्वरोजगारमा जोड दिन र घरेलुस्तरमै उद्यम गर्न सक्षम बनाउने उल्लेख गर्नुभयो।


रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले सहजिकरण गर्नुभएको कार्यक्रममा संस्थाका सचिव ताराकुमार विलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।तालिममा ७ नम्बर वडा भित्रका ३० जना महिलाहरूको सहभागिता रहेको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस