२०८२ फाल्गुन २६ गते मङ्गलवार

बुवा गुमाएका आदित्य चौधरीलाई संगै पढ्ने साथीहरुले गरे आर्थिक सहयोग

दाङ । हिमाल एकेडेमी तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत आदित्य चौधरीलाई संगै पढ्ने साथीहरुले आर्थिक सहयोग गरेका छन् । तुलसीपुर–११ सुकौराका निवासी चौधरीका बुवा तुलसीराम चौधरीको मृगौला फेल भएर केहि दिनअघि निधन भएको हो ।

बुवा गुमाएपछि आर्थिक समस्यामा रहेका चौधरी परिवारलाई सहपाठी साथीहरुले ३० हजार ४५ रुपैँया सहयोग गरेका हुन् । विद्यार्थीले खाजा खर्च कटौति गरेर संकलन गरेको रकम, विद्यार्थी अनुपस्थित हुँदा संकलन भएको जरिवाना रकम र शिक्षक कर्मचारीबाट संकलन गएको रकम आदित्यको परिवारलाई आइतबार घरमै पुगेर हस्तान्तरण गरेको विद्यालयका शिक्षक सालिकराम वलीले जानकारी दिनुभयो ।

घरको कमाउने व्यक्ति नै गुमाएपछि समस्यामा रहेको परिवारलाई केहि भएपनि सहयोग पुगोस् भनेर नगद सहयोग गरिएको विद्यालयले जनाएको छ । संकलित रकम आदित्यको आमा उर्मिला चौधरीलाई हस्तान्तरण गरिएको हो । समस्यामा परेको समयमा सहयोग प्राप्त गरेपछि आदित्यको आमा उर्मिलाले विद्यार्थी र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक सालिकराम वली, बिजय गुप्ता, बिमला केसी, गिता चौधरी, विद्यार्थीहरु प्रज्ञा बम, आयुषा परियार, माया वली, आयुष चौधरी, गौरब रावत , विपिन चौधरी लगायतको टोली सहभागी रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस