२०८२ फाल्गुन २६ गते मङ्गलवार

भ्यागुताले आफ्नै प्रजातिको भ्यागुता खाएको पुष्टि


दाङ, १४ चैत । सामान्यतया हामीहरुको बुझाई सर्पले भ्यागुता खान्छ भन्ने छ । सर्पले मात्रै होइन भ्यागुताले भ्यागुता खाएको कुरा हामीलाई अचम्म लाग्न सक्छ । तर यो प्रमाणित भएको छ ।

नेपालमा पहिलो पटक एउटै प्रजातिको भ्यागुताले अर्को भ्यागुता खाएको पुष्टि भएको छ ।

एक अध्ययन अनुसार नेपालमा पहिलो पटक भ्यागुताले भ्यागुता खाएको भेटिएको हो । भ्यागुताले नै भ्यागुता खाएको देखिनु दुर्लभ घटना हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राणी विज्ञान विभागका अनुसन्धानकर्ताहरूका अनुसार, दाङको हापुरे क्षेत्रमा भारतीय बुलफ्रगले आफ्नै प्रजातिको सानो भ्यागुतालाई शिकार गरेको पहिलो पटक वैज्ञानिक रूपमा रेकर्ड गरिएको छ ।

त्रि–चन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय काठमाडौमा अध्ययनरत विद्यार्थी तथा अनुसन्धानकर्ता सन्दीप ओलीका अनुसार दाङको बबई गाउँपालिका–४ हापुरेमा एक वयस्क भारतीय बुलफ्रग (होप्लोबट्राचस टाइगरिनस) भ्यागुताले आफ्नो प्रजातिकै सानो भ्यागुतालाई शिकार गरेको देखिएको छ ।

करिब १० महिना अगाडि यो तथ्य फेला परेको थियो । यो घटनाले नेपालमा जीवजन्तुको व्यवहारसम्बन्धी अध्ययनको नयाँ पाटो उजागर गरेको छ ।

भ्यागुताले भ्यागुता खाएको नेपालमा दोस्रो पटक रेकर्ड राख्न सफल भएको थियो । तर यो अहिले यो पहिलो पटक एउटै प्रजातिको भ्यागुताले भ्यागुता आएको भेटिएको छ । ‘पहिले सर्प उद्धारको काम गरे, सानै देखि नै सर्प उद्धार गर्ने रुचि थियो । अहिले अनुसन्धानको काम पनि सुरु गरेको छु ।’ उहाँले भन्नुभयो–‘विगत पाँच वर्षदेखि अनुसन्धानको काम हुँदै आएको छ ।’

पहिले पानी सर्पले भ्यागुता खाएको २०२१ मा उहाँले फेला पार्नुभएको थियो । ठूलो भ्यागुताले आफ्नै प्रजातिको सानो भ्यागुतालाई खाएको १० महिना अघि दाङको हापुरेमा फेला परेको उहाँले बताउनुभयो ।

त्यति मात्रै होईन छुचुन्द्रो मुसाले पनि भ्यागुता खाएको अर्को रोचक प्रमाण फेला परेको छ । ओलीका अनुसार, यस्ता घटनाहरू प्रायः राति घट्ने गर्छन् । सुक्खा ठाउँमा बस्ने छुचुन्दा्रे मुसाले भ्यागुतालाई खाएको भेटिएको उहाँको भनाई छ ।

‘मुसाले भ्यागुतालाई मार्न धेरै समय लगायो, साँझको करिब ७ बजेदेखि राति ११ बजेसम्म मुसाले भ्यागुतालाई टोकिरह्यो । उसले आक्रमण टाउकोतिर गर्यो । मुसाले भ्यागुतालाई मार्न करिब २ घण्टा लगायको थियो ।’ उहाँले भन्नुभयो–‘मुसाले भ्यागुतालाई मारेर आफ्‌नो आहाराको रुपमा प्रयोग गरेको पाइएको छ ।’

यसले जीवजन्तुहरूको आहार सम्बन्धी थप अनुसन्धानको आवश्यकता देखाएको उहाँको भनाई छ । यस्तो घटना प्राय साँझमा देखा पर्ने गरेको उहाँले बताउनुभयो । मानिसहरु सुतिसकेपछि जीवजन्तुहरु जस्तै सर्प भ्यागुता, मुसालगाएतका किरा फटिङग्राहरु रातिमा सक्रिय हुने गरेको उहाँको भनाई छ ।

यस्तै विगत ७ वर्षदेखि अनुसन्धान गर्दै आएका घोराहीका बसन्त सुवेदीले दाङमा वैज्ञानिक अनुसन्धान एकदमै कम रहेको बताउनुभयो । उहाँले आगामी दिनहरुमा अनुसन्धान गदै जाने हो भने धेरै कुराहरु पत्ता लाग्ने बताउनुभयो ।

उहाँका अनुसार यस्तो खालको घटनाले नेपालमा जीवजन्तुको पारिस्थितिकी तथा व्यवहारबारे गहिरो अनुसन्धान आवश्यक रहेको देखाएको छ । यस्ता अनुसन्धानहरू थप गरिएमा नयाँ तथ्यहरू उजागर हुन सक्ने र जीवजन्तुको संरक्षणमा मद्दत पुग्ने उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस