२०८२ फाल्गुन २६ गते मङ्गलवार

पुनर्निर्माणका लागि कपुरकोट गाउँपालिकाले आर्थिक सहायता उपलब्ध गराउने

सल्यान । जेनजी आन्दोलनको क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सल्यानको कपुरकोट गाउँपालिकाले नेपाल सरकारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको असोज ५ गतेको निर्णय अनुसार क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणको लागि पालिकाले आन्तरिक स्रोतबाट २ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले अहिलेको विषम परिस्थितिमा पालिकाले थोरै भएपनि पुनर्निर्माणमा सहयोग पुगोस् भनेर नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा २ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।

देशलाई संकट परिरहेको अवस्थामा तीनै तहका सरकारबिच सहकार्य र समन्वय हुन आवश्यक रहेको भन्दै उहाँले कपुरकोट गाउँपालिकाले पनि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।

यस्तै पालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जेनजीको अन्दोलनको क्रममा देशका विभिन्न स्थानमा राज्यले ठुलो क्षति बहोर्नुपरेको अवस्थामा कपुरकोट गाउँपालिकाले नेपाल सरकारको पुनर्निर्माण कोषमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलले पालिकाले आन्तरिक कोषबाट नेपाल सरकारलाई प्रदान गर्ने आर्थिक सहायता दशैँपछि खातामा राखिदिने बताउनुभयो । गाउँकार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धान्जली अर्पण गर्दै शोक प्रस्तावसमेत पारित गरेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस