२०८२ फाल्गुन २९ गते शुक्रवार

टी–२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको उत्कृष्ट जित


दाङ । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो । यो जितसँगै नेपाल ८ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंकसहित दोस्रो स्थानमा छ ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो । नेपालका लागि गुल्शन झाले चार ओभरमा ३१ रन दिँदै महत्वपूर्ण तीन विकेट लिनुभयो । त्यस्तै सोम्पाल कामी र नन्दन यादवले दुई दुई विकेट लिनुभयो भने सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गर्नुभयोे । ५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिनुभयो । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाउनुभयो ।

हिजो पनि उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उहाँ २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाउनुभयो । त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाउनुभयो । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहनुभयो ।

सुपर सिक्समा ओमानसँगै यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा भोली शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस