२०८२ फाल्गुन २६ गते मङ्गलवार

नमुना संसदमार्फत कानुन निर्माण प्रक्रिया सिक्दै विद्यार्थी

तुलसीपुर । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्न सम्बन्धमा बनेको विधेयक २०८२ पारितसँगै ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुरले आयोजना गरेको दोस्रो नमुना युवा संसद कार्यक्रम आज (मंगलवार)सम्पन्न भएको छ।

मङ्सिर १ गतेदेखि सुरु भएको नमुना संसद दुई दिनसम्म सञ्चालन भएको थियो । पहिलो दिन प्रशिक्षण समितिद्वारा संसदको अधिवेशन, कानुन निर्माण प्रक्रिया लगायतका विषयमा विस्तृत प्रशिक्षण तथा छलफल गरिएको नमुना संसदका सभामुख इन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

दोस्रो दिन आज नमूना सूचना तथा सञ्चार प्रविधि मन्त्री सन्देश घर्तीले पेश गर्नुभएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक २०८२ संसदमा दफावार छलफलपछि बहुमतले पारित गरिएको थियो।

ज्ञान ज्योति माध्यमिक विद्यालयको आयोजना तथा द नेसनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले संसदीय अभ्यासको नमुना प्रस्तुत गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक मनोज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा सांसद धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो । प्रमुख अतिथि मास्कीले राजनीतिक दलहरू खराब
नभई प्रवृत्तिका कारण राजनीतिमा समस्या देखिएको उल्लेख गर्दै विद्यार्थीहरूको क्षमता विकासका लागि नमुना संसद अभ्यास निकै महत्वपूर्ण खेलेको बताउनुभयो ।

विद्यार्थी सन्देश घर्तीको विषय प्रवेशबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेतले विद्यार्थीको नेतृत्व क्षमताको विकासमा यस्तो अभ्यास प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण द नेसनल युथ वेल्फेयर नेपालका केन्द्रीय सदस्य पारस ओलीले गर्नुभएको थियो ।
यसैबीच नमुना संसदमा सहभागी वक्ताहरूलाई सम्मान गरिएको छ । उत्कृष्ट वक्ताका रूपमा पुष्कर कठायत, दिवस बिक,हरिश्मा राम्जा सम्मानित भएका छन् ।

अनुसन्धानकर्ताका रूपमा पुष्पा ओली, प्रकृति बुढाथोकी, प्रमोद केसी, उत्कृष्ट नेतृत्वका रूपमा दिया केसी,शन्देस घर्ति र अंकित ओलीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो भने कानुन संकायमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस