दाङ । दाङमा होटलमा लुकाइएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । आज शनिबार बिहान पौने ११ बजेतिर पेस्तोल पड्किँदा लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएको दाङ प्रहरीले जनाएको छ ।
कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्दा अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । गौमको अवस्था सामान्य रहेको छ ।
हतियार कसले, के प्रयोजनको लागि राखेको हो भन्ने बारे वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । कटुवा पेस्तोल प्रहरीले बरामद गरेका छ ॥
यसअघि पनि लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए ।















