दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई सडकआश्रित सहयोगापेक्षी बेसहारा मानवमुक्त नगर घोषणा गरिएको छ । ‘तुलसीपुर सभ्यता’ र ‘मानवताको सहर’ निर्माण गर्ने संकल्पसहित तुलसीपुर उपमहानगरपालिकालाई सडक आश्रित मानवमुक्त घोषणा गरिएको हो ।

नगर प्रमुख टिकाराम खड्काले आइतबार घोषणा–पत्र सार्वजनिक गर्दै नगर क्षेत्रभित्र अब कोही पनि व्यक्ति बेसहारा भई सडकमा बस्नु नपर्ने बताउनुभयो ।
२०७५ सालदेखि नै सडक मानवको उद्धार गर्दै आएको उपमहानगरले अब मानवसेवा आश्रमसँगको औपचारिक सम्झौतामार्फत यसलाई पूर्णता दिएको हो । सम्झौता अनुसार, सडकमा भेटिएका असक्त र बेबारिसे व्यक्तिहरूको उद्धार, औषधि उपचार र पालनपोषणको जिम्मेवारी मानवसेवा आश्रमले लिनेछ भने उपमहानगरपालिकाले त्यसको अभिभावकत्व ग्रहण गर्नेछ ।
नगर प्रमुख खड्काले नगर क्षेत्रलाई मानवीय संवेदनासहितको नमूना सहर बनाउन यो कदम चालिएको बताउनुभयो । सम्झौता अनुसार प्रत्येक शनिबार राति नगरमा ‘रात्रीकालीन सडक सेवा’ सञ्चालन गरिनेछ । अभियानले कोही पनि नयाँ व्यक्ति सडकमा अलपत्र नपर्ने उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख प्रमुख माया श्रेष्ठले बताउनुभयो ।

घोषणासँगै तुलसीपुरले नेपाल सरकारको राष्ट्रिय अभियानलाई सार्थक बनाउन महत्वपूर्ण योगदान पुर्याएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले तुलसीपुर उपमहानगरपालिका मानवतामैत्री स्थानीय तहका रूपमा स्थापित भएको बताउनुभयो ।
घोषणा कार्यक्रममा उप–प्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, मानव सेवा आश्रम लुम्बिनी प्रदेशका संयोजक सरु अधिकारी, दाङ शाखा प्रमुख हिरु जोशी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । घोषणा अघि सयौँको संख्यामा र्यालीले बजार परिक्रममा गरेको हो ।















