२०८३ जेष्ठ २० गते बुधवार

घरको जग खन्दा भेटिएको सकेट बम सेनाद्वारा निष्क्रिय


रुकुम पश्चिम । चौजहारी नगरपालिका–१ स्थित एक घरमा हिजो शुक्रबार भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय (डिस्पोज) पारेको छ ।

स्थानीय धिरजबहादुर क्षेत्रीको घरको कम्पाउण्ड खन्ने क्रममा हिजो बिहानपख भेटिएको बम आज शनिबार दिउँसो १२ बजेतिर नेपाली सेनाले डिस्पोज गरेको हो ।

हिजो बिहान ७ बजेतिर शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले बताउनुभयो । सदरमुकामबाट खटिएको सेनाको टोलीले सकेट बम निष्क्रिय गराएको उहाँले जानकारी दिनुभयो । सो बम द्वन्द्वकालमै गाडिएको र अहिले काम गर्ने क्रममा भेटिएको हुनसक्ने उहाँको भनाई छ । यसबारे प्रहरीले थप अध्ययन गरिरहेको पनि उहाँले बताउनुभयो ।

तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म संचालन गरेको सशस्त्र संघर्षको केन्द्र मानिएको रुकुममा बेला–बेला बेवारिसे बम/बारुद भेटिने गरेका छन् । यो बम पनि त्यतिबेलै छिपाएर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस