२०८३ जेष्ठ २० गते बुधवार

सल्यानमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु


सल्यान । सल्यानमा बाघको आक्रमणबाट फेरि अर्का एक जना पुरुषको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका–६ हात्तिढुंगाका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

घरदेखि ३ सय मिटर टाढा रहेको घट्टमा पिठो पिस्न गएको चन्द्रबहादुर घर नफर्केपछि खोजी गर्दै जाँदा बाघले दायाँ खुट्टाको आधा भाग खाइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । चन्द्रबहादुरको शव शान्ति सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बताउनुभयो ।

केही दिनअघि मात्र बाघको आक्रमणबाट कालिमाटी गाउँपालिका ७ पर्सेनीका ४२ वर्षका धनसरा रावतको मृत्यु भएको थियो । महिलालाई मारेको बाघ सेनाले नियन्त्रणमा लिन नसकेपछि त्यहि बाघले नै खप्तडीलाई आक्रमण गरेको हुनसक्ने केसीले जानकारी दिनुभयो ।

नेपाली सेनाले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिन नसकेपछि अवस्था झनै भयावह बन्दै गएको कालिमाटी गाउँपालिका ७ का वडा अध्यक्ष मित्रलाल रिजालले बताउनुभयो । नरभक्षी बाघको आक्रमणबाट साताको अवधीमा तीन जनाको मृत्यु भइसकेको र दुई गोरु मारेको उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस