२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुरमा महिलाहरुका लागि फोटो पत्रकारिता तालिम सुरु


दाङ ।
दाङको तुलसीपुरमा महिलाहरुका लागि फोटो पत्रकारिता तालिम सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा संचारिका समूह दाङ र रोज डिजिटल मिडिया हाउस प्रा.लि. तुलसीपुरको समन्वयमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन नगर उपप्रमुख स्यानी चौधरीले गजर्नुभएको हो । उपप्रमुख चौधरीले पत्रकारिता समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले पत्रकारले समाज मात्र नभई व्यक्तिको जीवन परिवर्तन गर्न सक्ने खालको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको घर र बाहिर दोहोरो भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहे पनि पुरुषभन्दा कुनै काममा कमजोर नभएको बताउनुभयो । तालिमले महिलाहरुको पत्रकारितामा पहुँच र सहभागिता बढाउन सहयोग पुग्ने उहाँको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत केशवराज पाध्रेले पछिल्लो समय पत्रकारितामा फोटोको महत्व झनै बढ्दै गएको बताउनुभयो । उहाँले तालिम सिकाइमा सीमित नभई व्यवहारमा लागू हुनुपर्नेमा जोड दिनुभयो । नयाँ पत्रकारिताको तालिम लिन आएका सहभागीलाई रोल मोडलको रुपमा अगाडि बढ्न र सिकेका सीपलाई व्यावहारमा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।

यस्तै नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायणी रजौरेले शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाहरु फोटो पत्रकारितामार्फत आफ्ना आवाज र सामाजिक मुद्दा सशक्त ढंगले उठाउन सक्ने बताउनुभयो ।

तालिममा महिलाहरुका लागि फोटो पत्रकारिताको आधारभूत सिद्धान्त, अभ्यास र आधुनिक पत्रकारितामा यसको प्रयोगबारे प्रशिक्षण दिइने छ । प्रशिक्षकमा चन्द्र बहादुर गिरि र दिल बहादुर बुढाथोकी रहनु भएको छ ।

तालिम माघ २१ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस