दाङ । दाङको तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ बिरेन्द्र चोकमा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा दाङ प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको हो ।
बिहिबार राति करिब साढे ९ बजेतिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजना गरिएको स्वागत कार्यक्रममा भीडभाडका बीच केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
उक्त घटनाको अनुसन्धानका क्रममा तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षका रमेश राना मगर, तुलसीपुर उपमहानगरपालिका–६ गाइडरका २४ वर्षकम विक्रम परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षका बुद्धि बहादुर बस्नेतलाइ पक्राउ गरिएको थियो ।
हालसम्म तीन जनालाई पक्राउ गरिएको डिएसपी बोहोराले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको डिएसपी बोहोराले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जना माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले समाजमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुग्ने खालका गतिविधि नगर्न सबै सरोकारवाला पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ ।















