तुलसीपुर ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्ब। ३ मा नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले आफ्नो घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
सार्वजनिक घोषणापत्रमा भौतिक पूर्वाधार, सामाजिक विकास, युवा रोजगारी र सुशासनलाई केन्द्रमा राखिएको छ । बुधबार पश्चिम दाङको शान्तीनगर गाउँपालिका वडा नम्बर ५ रगैचाको थारु गाउँबाट डिजिटल क्युआर कोडमार्फत उम्मेदवार पाण्डेले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
स्थानीय संस्कृति र पहिचानलाई सम्मान गर्ने उद्देश्यसहित थारु गाउँ रोजेर घोषणापत्र सार्वजनिक गरिएको उहाँले बताउनुभयो । थारु गाउँबाट सार्वजनिक घोषणापत्रमा हरेक थारु गाउँलाई सजीव सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने र महतवा प्रक्रियालाई कानुनी मान्यता दिन नीति बनाइने उल्लेख छ ।
भौतिक पूर्वाधारमा ठूला योजना
घोषणापत्रअनुसार राप्ती राजमार्ग स्तरोन्नति कार्यमा देखिएका अवरोधको समाधान गरिने उल्लेख छ । लुम्बिनी र कर्णाली प्रदेश जोड्ने वैकल्पिक मार्गका रूपमा रहेका विभिन्न सडकहरूको स्तरोन्नति तथा कालोपत्रे, गुहारखोला हाइड्याम निर्माण, गंगटे-श्रीमणि मार्ग विस्तार तथा गंगटे-नेपालगञ्ज सडकलाई पूर्णता दिइने योजना घोषणापत्रमा सार्वजनिक गरिएको छ ।
दामोदर मार्गको विस्तार र स्तरोन्नतिसँगै टरिगाउँमा ७२ सिटे जहाज सञ्चालन हुने गरी विमानस्थल विस्तार गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।
सामाजिक विकासमा शिक्षा-स्वास्थ्य केन्द्रित कार्यक्रम
‘एक पालिका, एक नमुना विद्यालय’ कार्यक्रम सञ्चालन तथा पश्चिम दाङलाई समेट्ने गरी विज्ञान तथा प्रविधि कलेज स्थापना गरिने उल्लेख छ । तुलसीपुर मेट्रो कलेज र राप्ती बबई बहुमुखी क्याम्पसलाई आङ्गिक कलेजका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । यस्तै फरक क्षमता भएका बालबालिकाका लागि सुविधा सम्पन्न आवासीय विद्यालय सञ्चालन तथा अस्पतालहरूमा वृद्धवृद्धा सेवा केन्द्र स्थापना गरिने प्रतिबद्धता गरिएको छ ।
वन, वनस्पति र वन्यजन्तु सम्पदाले समृद्ध दाङलाई ‘नमुना हरित जिल्ला’का रूपमा परिचित गराउने लक्ष्यसहित संरक्षण र व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ ।
युवा तथा खेलकुदतर्फ युवाप्रतिभाको खोजी गरी क्षमताको सदुपयोग गरिने, युवाले आविष्कार गरेका उपकरण र सामग्रीलाई व्यावसायिक बनाउन प्रोत्साहन गरिने तथा प्रदेशस्तरको स्पोट्र्स एकेडेमी स्थापना गरी खेलकुदको विकास, संरक्षण र प्रोत्साहन गरिने योजना समेटिएको छ ।
यस्तै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बबई गाउँपालिकाका विभिन्न बस्ती स्थानान्तरणका लागि आवश्यक नीति बनाइने तथा सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा वितरणको अवरुद्ध कार्यलाई निरन्तरता दिइने उल्लेख छ।
पश्चिम दाङको केन्द्र तुलसीपुरमा रहेका उच्च अदालत, प्रादेशिक प्रहरी कार्यालय, बाहिनी, प्रादेशिक अस्पताल लगायत अन्य प्रादेशिक कार्यालयहरूलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि नीतिगत तथा प्रशासनिक पहल गरिने घोषणापत्रमा उल्लेख छ ।














