दाङ । प्रतिनिधि सभा सदस्यको निर्वाचन आउँन अब सात दिन मात्र बाँकी छ । दाङका तीन वटा निर्वाचन क्षेत्रका ६० उम्मेदवारमध्ये ४९ जनाले अझै नयाँ बैंक खाता नखोलेको पाइएको छ । निर्वाचन आचारसंहिताअनुसार अनिवार्य गरिएको छुट्टै खाता खोल्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।
निर्वाचनमा सहभागी भएका दाङका ६० जना उम्मेदवारमध्ये ११ जनाले मात्र बैंकको नयाँ खाता खोलेकोे जिल्ला आचारसंहिता अनुगमन अधिकृत मोहनकुमार जैसवालले जानकारी दिनुभएको छ । उहाँका अनुसार निर्वाचनका क्रमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन आयोगको निर्णय अनुसार उम्मेदवारले नयाँ बैंक खाता खोल्नु पर्ने प्रावधान भए पनि जिल्लामा अधिकांश उम्मेदवारले बैंक खाता खोल्न ढिलाइ गरेका छन् ।
खाता खोल्नका लागि सिफारिस ३१ जनाले लगेको भए पनि ११ जनाले मात्र हालसम्म बैंक खाता खोलेको उहाँको भनाइ छ ।प्रमुख राजनीतिक दलका उम्मेदवारले समेत बैंक खाता खोल्न आनाकानी गरेको पाइएको छ ।
निर्वाचन आयोगले पटक पटक उम्मेदवारलाई छुट्टै खाता खोल्न निर्देशन दिँदै आएको छ तर यसको प्रभावकारी रूपमा कार्यान्वन हुन सकेको छैन । आर्थिक पारदर्शिता बनाउन आयोगले उम्मेदवारको छुट्टै खाता खोलेर त्यसैमार्फत् आर्थिक कारोबार गर्न आग्रह गरेको छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावमा सहभागी दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नु पर्ने व्यवस्था छ । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न अनिवार्य नयाँ बैंक खाता खोल्नु पर्ने व्यवस्था गरिएको छ ।
जिल्लामा उम्मेदवारलाई बैंक खाता खोल्न आग्रह गरिएको भए पनि अधिकांश उम्मेदवारले खाता खोल्न ढिलाइ गरेको अनुगमन अधिकृत जैसवालले बताउनुभयो । नयाँ बैंक खाता नखोल्ने उम्मेदवारबारे निर्वाचन आयोगमा जानकारी गराइने उहाँले बताउनुभयो ।


















