२०८२ फाल्गुन २६ गते मङ्गलवार

स्थानीय तहका जनप्रतिनिधिबाटै आचारसंहिता उल्लङ्घन


दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा स्थानीय तहका जनप्रतिनिधिले पनि प्रत्यक्ष रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी निर्वाचन प्रचारप्रसारमा लागेको पाइएको छ ।

निर्वाचन आचारसंहिताले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुन बन्देज गरेको छ तर कतिपय स्थानीय तहका कार्यपालिका सदस्य, वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख नै उम्मेदवारका लागि मत माग्दै हिँडेका छन्‌ ।

निर्वाचन आचारसंहितामा स्थानीय कार्यापालिका, सोका सदस्य र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आचारसंहिता लाग्ने उल्लेख गरिएको छ । आचारसंहिताको परिच्छेद ३ ‘क’ को ४ नं. बुँदामा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका काममा संलग्न हुन सक्ने छन् भन्ने उल्लेख गरिएको छ ।

त्यसरी निर्वाचनको प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधनको प्रयोग गर्न नहुने उल्लेख गरिएको छ तर कतिपय स्थानीय तहका जनप्रतिनिधिले आफू बहाल रहेकै स्थानीय तहभित्र निर्वाचन प्रचारप्रसारमा सक्रिय भएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।

इन्सेकका निर्देशक मदन पौडलेले इन्सेकको भूमिका निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने विषयको पर्यवेक्षणसमेत गर्नुपर्ने भएकाले ७७ वटै जिल्लामा जिल्ला प्रतिनिधिले गरेको अनुगमनका आधारमा स्थानीय तहका जनप्रतिनिधिले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस