२०८३ जेष्ठ २८ गते बिहिवार

तुलसीपुरमा चुनावी सभाले मुख्य सडक नै अबरुद्ध


दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा दाङको तुलसीपुरमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र बनाएका छन् । यही फागुन २१ गते हुने निर्वाचन आउन अब चार दिन मात्र बाँकी रहँदा दलहरू चुनावी सभादेखि घरदैलो अभियानसम्ममा व्यस्त देखिएका छन् ।

राजनितिक दल र नेताहरु चुनावी सभा गर्ने र गाँउ गाँउमा मतदाता सम्म पुगेर मत माग्न व्यस्त रहेका छन् । तर चुनावी सभाको नाममा बजारका सडक नै अवरुद्ध गरेर कार्यक्रम हुने गरेका छन् । चुनावी प्रचार–प्रसार अन्तर्गत आज आइतबार तुलसीपुर बजारका विभिन्न स्थानमा सभा कार्यक्रम आयोजना गरिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा),नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बजारका मुख्य सडक नै अवरुद्ध गरेर चुनावी सभा गरेका हुन् ।

राप्रपाले वीरेन्द्र चोकमा, एमालेले विपि चोकमा र कांग्रेसले बसपार्कको माछापच्छ्रे टोल क्षेत्रमा सभा आयोजना गरेका छन् । दलहरूले सभा सञ्चालनका क्रममा मुख्य सडक नै बन्द गरेपछि बजार क्षेत्र अस्तव्यस्त बनेको छ ।

राजनितिक दलले बजारको सडक नै अबरुद्ध गरेका कारण नागरिकलाई हिडडुल गर्न समस्या भएको छ । सडक अवरुद्ध हुँदा सर्वसाधारण नागरिकलाई आवतजावत गर्न कठिनाइ हुनुका साथै तुलसीपुरको साँघुरो सडकमा सवारी साधनको लामो जाम समेत लागेको छ । आकस्मिक काममा हिँडेका नागरिक, विद्यार्थी तथा व्यवसायीहरू प्रभावित भएका छन् ।

चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरूको सक्रियता बढे पनि सार्वजनिक सडक अवरुद्ध गरेर कार्यक्रम गर्दा सर्वसाधारणलाई सास्ती हुने गरेको भन्दै स्थानीयले व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस