२०८३ बैशाख ४ गते शुक्रवार

राप्ती लाइफ केयर अस्पतालले गर्‍यो तुलसीपुरको लहलौरामा निःशुल्क स्वास्थ्य शिविर


दाङ । तुलसीपुर–७ मोतिपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । आज आइतबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर–१६ लहलौरामा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

जेष्ठ नागरिक गीरीराज केसीको अध्यक्षता तथा तुलसीपुर–१६ का वडा अध्यक्ष शिवानन्द डाँगीको प्रमुख आतिथ्यता तथा वडा सदस्य मोहोनलाल थारुको विशिष्ट आतिथ्यतामा स्वास्थ्य शिविर कार्यक्रम भएको हो । अस्पतालले वडा कार्यालयको समन्वयमा वडाकै प्राङ्णमा स्वास्थ्य शिविर गरेको हो ।

अस्पतालसम्म सहज पहुँच नभएका र आर्थिक रूपमा विपन्न नागरिकहरूलाई लक्षित गरी सबैलाई एकै ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गरिएको हो । शिविरमा आएका स्थानीयहरूले आफ्नै गाउँमा विशेषज्ञ परामर्श र जाँच सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

वडा सदस्य थारुले अस्पतालले वडामै पुगेर नागरिकहरु सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनि अस्पतालले यस्तो खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

जेष्ठ नागरिक गीरीराज केसीले पछिल्लो समय शिक्षित व्यक्तिहरु पनि कार्यव्यस्तताका कारण स्वास्थ्यलाई ध्यानमा नराखेको बताउनुभयो । यो शिविरले उमेरहदका कारण अस्पतालसम्म पुग्न नसकेका व्यक्तिलाई स्वास्थ्य चेकजाँचका लागि सुनौलो अवसर प्रदान गरेकोमा अस्पताललाई धन्यवाद दिनुभयो ।

वडा अध्यक्ष डाँगीले अस्पतालसम्म पहुँच नपुगेका व्यक्तिलाई गाउँमै आएर सेवा दिएकोमा खुशी व्यक्त गर्नुभयो । अध्यक्ष डाँगीले अस्पतालले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै विगत लामो समयदेखि विभिन्न दुर्गम ठाँउमा पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले आगामी दिनमा वडाका बस्तीहरुमा अस्पतालसंग सहकार्य गदै स्वास्थ्य सेवा शिविरलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बिजनेस डेभलपमेन्ट म्यानेजर पंकज चौधरीले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै गाउँ–केन्द्रित अभियान सुरु गरेको बताउनुभयो । अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले ग्रामीण क्षेत्रका नागरिकहरू सामान्य बिरामी हुँदा पनि अस्पतालसम्म आउन झन्झट मान्ने वा खर्चको अभावले रोग पालेर बस्ने गरेकाले अस्पताल आफैँ गाउँ–गाउँमा पुग्ने नीति लिएको बताउनुभयो ।

शिविरमा एकसय भन्दा बढी नागरिकले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा अस्पतालका लिला डाँगी, सबिता बुढाथोकी, दिपा मगर, विश्व सम्रार्ट लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण अस्पतालका इर्मेजेन्सी इन्चार्ज तुलराज बरालले गर्नुभएको हो । अस्पतालले विगत लामो समयदेखि यस क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस