दाङ । सरकारले भोली हुने निर्वाचनलाई मध्यनजर गर्दै बुधबारदेखि सम्पूर्ण भन्सार नाकाहरू ७२ घण्टाका लागि बन्द गरेको छ । भन्सार विभागका अनुसार निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै उत्तर र दक्षिण दुवैतर्फका सीमा नाका बन्द गरी नियमित आयात तथा आवागमन अस्थायी रूपमा रोक लगाइएको हो ।
यद्यपि अत्यावश्यक वस्तुको आयातमा भने कुनै अवरोध नहुने जनाइएको छ । विभागका अनुसार पेट्रोलियम पदार्थ, ग्यास, फलफूल, तरकारीलगायतका अत्यावश्यक सामग्रीहरू नियमित रूपमा भित्रिरहेका छन् र निर्वाचनको दिन पनि आपूर्ति जारी रहनेछ ।
भन्सार परिसरमा यसअघि नै आइपुगेका अन्य सामानहरूको जाँचपास भने निर्वाचन सकिएपछि मात्रै सुरू गरिने विभागले जनाएको छ । मानिसहरूको आवतजावत र नियमित सामग्रीको आपूर्ति ७२ घण्टापछि पुनः सञ्चालनमा आउने विभागले जानकारी दिएको छ ।



















