रोल्पा । रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ तेवाङमा चट्याङ लागेर भैसीपुरे निवासी २४ वर्षीया कृष्णा पुनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार कृष्णाको घरमा आइतबार (चैत २ गते) दिउँसो करिब साढे तीन बजेतिर चट्याङ लागेको हो । ढुंगा–माटोले बनेको र टिनको छाना भएको दुई तले घरमा बसिरहेको अवस्थामा चट्याङ पर्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले साँझ साढे ६ बजेतिरमात्रै टेलिफोनमार्फत जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षकको कमाण्डमा ६ जनाको टोली घटनास्थल पुगेको थियो ।
















