२०८३ जेष्ठ २७ गते बुधवार

तुलसीपुरमा मौलिक नाच प्रतियोगिता, सोरठी नाच प्रथम

दाङ । दाङको तुलसीपुरमा विभिन्न जातजातीको पहिचान झल्कने मौलिक नाच प्रतियोगिता गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाले बिहिबार तुलसीपुर–७ स्थित गणेशपुर राप्ती शान्ति उद्यानमा प्रतियोगिता गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाको ३४ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका नगरस्तरीय मौलिक नाच प्रतियोगिता गरिएको शाखा प्रमुख झरेन्द्र खरेलले बताउनुभयो ।

प्रतियोगितामा वडा नम्बर १ को सोरठी नाच प्रथम हुन सफल भएको छ । यस्तै वडा नम्बर १२ को थारु महतवा नाचले द्वितीय र वडा नम्बर १० को थारु नाचले तृतीय स्थान हासिल गरेका छन् ।

कुल ६ वटा वडाका सांस्कृतिक समूहहरू सहभागी रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ ।

विजेताहरूलाई आगामी चैत ३० गते उपमहानगरको स्थापना दिवसको विशेष समारोहमा पुरस्कृत गरिने आयोजकले जनाएको छ । तुलसीपुर–७ का वडाध्यक्ष राम बहादुर जिसीको अध्यक्षता एवं नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नगरउप्रमुख चौधरीले मौलिक नाच प्रतियोगितामार्फत नयाँ पुस्तालाई कला संस्कृतिको महत्व बुझाउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष हुमाकान्त सापकोटा र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । शाखा प्रमुख झरेन्द्र खरेलले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस