दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार घोराही–१० का अन्दाजी ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक बावुराम बस्नेतले जानकारी दिनुभयो । पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरिक्षक बस्नेतले बताउनुभयो ।
मोटरसाइकल चालक घोराही–१२ का ४० वर्षका धनबहादुर घर्ती गम्भीर घाइते भएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गएराति पौने १० बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ७२६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भएर घोराही–१० सौडिकुलामा दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















