दाङ । स्वर्गिय गुमी कुमारी पौडेलको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गिय पौडेलको परिवारलाई नगद २० हजार राहत रकम हस्तान्तरण गरेको हो ।
स्वर्गिय पौडेल रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलको आमा हुनुहुन्छ । उहाँ गत चैत ५ गते जलनमा पर्नुभएको थियो । तुलसीपुर–७ मोतिपुर निवासी पौडेलको गत चैत १२ गते निधन भएको हो । शेयर सदस्य समेत रहनुभएकी स्वर्गिय पौडेलको परिवारलाई बुधबार घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले स्वर्गिय पौडेलका नाती भीम पौडेललाई राहत रकम हस्तान्तरण गर्नुभएको हो । सहकारीले शेयर सदस्यका लागि विपद् राहत कोष स्थापना गरेको छ । उक्त कोषमा शेयर सदस्य बन्दा अनिवार्यरुपमा १ हजार जम्मा गर्नुपर्ने प्रावधान छ ।
संस्थाले शेयर सदस्यलाई कुनै प्रकारको प्राकृतिक विपत्ति आइपरेमा, गम्भिर प्रकारका रोग लागेमा वा दुर्घटनामा परेर अंगभंग भएमा कोषबाट प्राप्त केहि रकम सहयोग गर्ने गरेको छ । यस्तै शेयर सदस्यको निधन भएमा पनि संस्थाले नगद २० हजार सम्बन्धित परिवारलाई सहयोग हस्तान्तरण गर्ने गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीले बताउनुभयो ।















