दाङ। सरकारी कार्यालयमा बिचौलियाको भागाभाग भएको छ । नयाँ सरकारले कार्यभार सम्हालेको केही दिनमै सार्वजनिक सेवा प्रवाहमा आमूल सुधारको संकेत देखाउँदै सरकारी कार्यालयहरूमा हुने बिचौलियाको चलखेलविरुद्ध कडा निगरानी सुरु गरेको छ ।
विशेषगरी मालपोत र यातायात जस्ता सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश र प्रभाव रोक्न सरकारले विशेष अभियान नै सञ्चालन गरेको हो ।
लामो समयदेखि सरकारी संयन्त्रभित्रै जरो गाडेर बसेका बिचौलियाहरूले सर्वसाधारणलाई झन्झट दिने र अनावश्यक रकम असुल्ने गरेको गुनासो बढेपछि बढी भिडभाड हुने सरकारी कार्यालयमा सादा पोसाकमा विशेष टोली परिचालन गरिएको छ ।
यो टोलीले कार्यालय परिसरमा अनावश्यक रूपमा घुमफिर गर्ने, कर्मचारीसँग अस्वाभाविक निकटता राख्ने र सेवाग्राहीलाई प्रलोभनमा पार्ने व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउने तयारी गरेको छ ।
प्रशासनले केवल बाहिरी व्यक्तिलाई मात्र होइन, बिचौलियासँग मिलेमतो गर्ने कर्मचारीहरूमाथि पनि कडा नजर राख्न सुरु गरेको छ । फाइल अड्काउने, प्रक्रिया जटिल बनाउने र बिचौलियामार्फत काम गराउन प्रोत्साहन गर्ने कर्मचारीलाई समेत विभागीय कारबाहीको चेतावनी दिइएको छ । सरकारको यो नयाँ रफ्तारले वर्षौँदेखि सेटिङमा चल्दै आएको बिचौलियातन्त्रलाई चुनौती दिएको छ ।



















