दाङ । दाङमा एक किशोरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–२ बह्राखुट्टीका १७ वर्षीय स्मिथ प्रधानको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रधानको शव राप्ती गाउँपालिका–४ स्थित दोलाई खोलाको सुख्खा पक्की नालामा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा हिजो शुक्रबार दिउँसो करिब १२ बजे फेला परेको थियो ।
घटनामा प्रधानका साथी राप्ती गाउँपालिका–१ पाखापानीका १६ वर्षीय आयुषमान थापा मगर घाइते हुनुभएको छ । उहाँको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार हत्या आरोपमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीका अनुसार उनीहरूलाई राति १० बजेदेखि शुक्रबार बिहान ४ बजेसम्म विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार आकृति बुढाले सामाजिक सञ्जालमा नक्कली (फेक) आइडी प्रयोग गरी भेट्न बोलाएकी थिइन् । सोही कारण स्मिथ र आयुषमान बिहीबार साँझ करिब ८ बजे घरबाट सँगै राप्ती–४ तर्फ गएका थिए ।
प्रहरी अनुसन्धानबाट बुढाकै योजनामा उनीहरूलाई बोलाई योजनाबद्ध रूपमा प्रधानको हत्या गरिएको प्रारम्भिक तथ्य खुलेको छ । प्रहरीका अनुसार आकृति बुढा र मृतक प्रधान यसअघि कक्षा ८ देखि १० सम्म सँगै अध्ययन गरेका थिए ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग, कम उमेरको प्रेम सम्बन्ध र बदलाको भावनाका कारण घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।















