२०८३ बैशाख १९ गते शनिवार

दाङमा चार सय बढी फरार प्रतिवादी पक्राउ


दाङ । अदालतको फैसला कार्यान्वयनमा दाङ प्रहरीले सक्रियता देखाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेकाहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी दीपक श्रेष्ठका अनुसार करिब ८ महिनाको अवधिमा प्रहरीले चार सय बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि चैत दोस्रो सातासम्म चार सय १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान थालेको जनाउँदै उहाँले सो अभियानअन्तर्गत विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादी खोज्न थालेको बताउनुभयो ।

मुद्दा फैसला भई फरार रहेका निजहरूलाई अदालतबाट एक करोड २५ लाख १२ हजार छ सय १७जरिवाना र एक सय ६५ वर्ष आठ महिना चार दिन कैद सजाय तोकिएको पनि प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालत घोराहीमा पेश गरिएको जनाएको छ । दाङ प्रहरीले उपलब्ध गराएको विवरण अनुसार साउनमा २७ जना फरार प्रतिवादी पक्राउ गरिँदा २६ लाख १२ हजार आठ सय २८ जरिवाना र २३ वर्ष सात महिना १५ दिन कैद सजाय तोकिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

भदौमा ३५, असोजमा ५७, कात्तिकमा ३७, मङ्सिरमा ७३, पुसमा ८६, माघमा ५६, फागुनमा २ ९ र चैतको दोस्रो सातासम्म १४ जना फरार प्रतिवादी पक्राउ परेका उहाँले बताउनुभयो ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार साउनदेखि चैत्र दोस्रो सातासम्म चार सय १४ जना फरार प्रतिवादीलाई पक्राउ गरी एक करोड २५ लाख १२ हजार छ सय १७ जरिवाना र एक सय ६५ वर्ष आठ महिना चार दिन कैद सजाय तोकिएको छ । अन्य फरार प्रतिवादीलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई आगामी दिनमा थप तीव्र बनाउँदै लैजाने उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस