२०८३ जेष्ठ २७ गते बुधवार

घोडालाई टिटानस विरुद्धको खोप र पौष्टिक आहार वितरण

दाङ । तुलसीपुरमा घोडाको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले एक दिने स्वास्थ्य शिविर गरिएको छ । घोडालाई लाग्ने विभिन्न रोगविरुद्ध खोप प्रदान गर्न र आवश्यक पोषण सुनिश्चित गर्न शिविरको आयोजना गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना तथा एएचटिसीएस पोखराको प्राविधिक सहकार्यमा तुलसीपुर–१० गौरीगाउँमा उक्त शिविर सञ्चालन भएको हो ।

शिविरमा ७० वटा घोडालाई टिटानस विरुद्धको खोप लगाउनुका साथै भिटामिन र पौष्टिक आहार समेत वितरण गरिएको छ । पशु सेवा शाखा प्रमुख डा. मनोज वलीले घोडामा लाग्ने टिटानस जस्ता रोगबाट मानिसलाई पनि जोखिम हुने भएकाले पूर्वसतर्कता स्वरूप घोडालाई खोप लगाउने गरिएको बताउनुभयो ।

उपमहानगरपालिकाले हरेक वर्ष घोडापालक किसानको सहजताका लागि यस्तो कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले घोडापालक किसानलाई स्वास्थ्य जोखिमबाट बचाउन र घोडाको स्वास्थ्य क्षमता बढाउन शिविर प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, वडा नम्बर १० का अध्यक्ष यमराज केसी र किसान राजकुमार चौधरी लगायतले घोडा र किसान दुवैको स्वास्थ्य सुरक्षाका लागि शिविर महत्वपूर्ण रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखा संयोजक लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पशु सेवा शाखाकी सुनिता शर्माले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस