दाङ । नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा अवस्थित राप्ती शान्ति उद्यानमा आन्तरिक पर्यटकको ठूलो उत्साह देखिएको छ ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नयाँ वर्षको अवसरमा उद्यानमा बिहानैदेखि अवलोकनकर्ताहरूको घुइँचो लागेको थियो । उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुधिर केसीका अनुसार, मंगलबार (बैशाख १ गते) एकै दिनमा १० हजारभन्दा बढीले टिकट काटेर उद्यानको अवलोकन गरेका छन् ।
नयाँ वर्षको अवसरमा वनभोज खान, साथीभाइ र परिवारसँग रमाउन तथा पार्कको सुन्दरता अवलोकन गर्न दाङसहित सल्यान, रोल्पा, बाँके र प्युठान जिल्लाबाट समेत उल्लेख्य संख्यामा मानिसहरू आएका थिए ।

पर्यटकहरूका लागि उद्यानभित्र रहेको भगवान गौतम बुद्धको मूर्ति, सुन्दरीको प्रतिमा, वाटर फाउन्टेन र मिनी चिडियाखाना मुख्य आकर्षण बनेका छन् । बालबालिकाहरूका लागि बाल उद्यान र पौडी पोखरीमा विशेष भिड हुने गरेको छ । शान्त वातावरण र हरियालीका कारण पनि यो क्षेत्र वनभोज (पिकनिक) का लागि जिल्लाकै पहिलो रोजाइमा पर्ने गरेको छ ।
एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएसँगै उद्यानको आन्तरिक आम्दानीमा वृद्धि भएको छ भने आसपासका साना तथा ठूला होटल व्यवसायीहरू समेत उत्साहित भएका छन् ।
द्वन्द्वकालमा शान्तिको सन्देश दिन स्थापना गरिएको यो उद्यान अहिले लुम्बिनी प्रदेशकै एक नमुना पर्यटकीय स्थलको रूपमा विकास भएको छ । गत वर्षहरूमा पनि नयाँ वर्षको दिन यहाँ १० देखि १२ हजारसम्म पर्यटक आउने गरेको तथ्यांक छ ।


















