दाङ । दाङमा ट्राफिक नियम पालना नगर्ने १४ हजार बढी सवारी साधनलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम पालना नगर्ने १४ हजार बढी सवारी साधनलाई कारबाही गरेको हो ।
एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारबाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । एक वर्षको अवधिमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।
जिल्लामा बितेको आर्थिक वर्ष २०८२/०८३मा ३४७ सवारी दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।



















