शान्तिनगर । दाङको शान्तिनगरमा सामुदायिक वन स्तरिय भेला गरिएको छ । स्थानीय वन महासंघ (फेकोफन) शान्तिनगर गाउँपालिकाको आयोजनामा भेला भएको हो ।
स्थानीय वन महासंघ शान्तिनगरका अध्यक्ष भीम खत्रीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष तारा बहादुर ओली प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो ।
कार्यक्रममा वन संरक्षण र व्यवस्थापनका विविध पक्षमा छलफल गरिएको थियो । कार्यक्रममा स्थानीय वन महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महतारा, दंगीशरण फेकोफनका अध्यक्ष शोभाकर न्यौपाने, सब–डिभिजन वन कार्यालय दंगीशरणका प्रमुख खिम बहादुर केसी र शान्तिनगर गाउँपालिकाका वरिष्ठ अधिकृत पुराण चन्द्र आचार्यको सहभागीता रहेको थियो ।
यस्तै फेकोफन जिल्ला शाखा दाङका सह–सचिव भुप बहादुर केसी र क्लिन इनर्जी एण्ड इन्भाइरोमेन्ट डेभलपमेन्ट सेन्टरका निर्देशक ईश्वरी प्रसाद घर्ती लगायत शान्तिनगर गाउँपालिका भित्रका विभिन्न सामुदायिक वन समूहका अध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
भेलाले सामुदायिक वनको सुदृढीकरण र समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्न सुख्खा मौसम बढ्दै गएकोले वन डढेलो नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समूहहरूलाई सक्रियतापूर्वक परिचालन गर्ने र नियन्त्रणका पहलहरूलाई प्रभावकारी बनाउने, सरोकारवाला निकायहरूबीच नियमित समन्वय बैठक बस्ने निर्णय गरेको छ ।
यस्तै सामुदायिक वनहरूलाई पालिकामा सूचीकृत गर्ने र सबै समूहले महासंघको सदस्यता नवीकरण गर्ने, वातावरण संरक्षणका लागि विद्युतीय चुलोको प्रयोगमा जोड दिने र वनलाई प्रविधिमैत्री बनाउने निर्णय गरिएको छ ।
यसैगरी सामुदायिक वनको विधान र कार्ययोजना संशोधन गर्ने तथा ती प्रक्रियाहरूलाई छिटो–छरितो बनाउन डिभिजन वन कार्यालय दाङलाई अनुरोध गर्ने, सबै सामुदायिक वन समूहहरूलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर प्यानमा आबद्ध हुन पहल गर्ने निर्णय गरिएको छ ।
भेलाले स्थानीय सरकार, सब–डिभिजन वन कार्यालय, डिभिजन वन, र विभिन्न सरोकारवाला संघ–संस्थाहरूबीचको सहकार्यलाई थप बलियो बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।















