दाङ । दाङमा आजदेखि दाङ जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । आज शुक्रबारदेखि तुलसीपुर उपमहानगरपालिका–१७ मा रहेको बेलझुण्डी रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।
लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिँचाइ मन्त्री सीता चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागि भौतिक पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई प्राथमिकतामै राखिएको बताउनुभयो ।
उहाँले खेल क्षेत्रले खेलाडीहरुमा अनुशासनको विकासका साथै समाजमा नेतृत्वदायी भूमिका रहने बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले प्रदेशको कूल बजेटको शून्य दशमलव १३ प्रतिशत मात्रै विनियोजन गरेकाले खेल र खेलाडिको विकासका लागि काम गर्नका लागि कठिनाइ भएको बताउनुभयो ।
उहाँले कक्षा १० र १२ को परीक्षाका कारण रनिङशिल्ड प्रतियोगिता समयमै आयोजना गर्न कठिनाइ भएको बताउनुभयो । सदस्यसचिव गौतमले पछिल्लो समय खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रसमेत उदासीन बन्दै जाँदा खेल आयोजना गर्नका लागि चुनौती थपिएको बताउनुभयो ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले तीनै तहका सरकारबिच समन्वय, सहकार्य सहयोग भए मात्रै खेल क्षेत्रको विकास हुने बताउनुभयो । खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियारले प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, एथलेक्टीस, भलिबल र कबड्डी खेल समावेश गरिएको बताउनुभयो ।
उहाँका अनुसार आज तेक्वान्दो तर्फको पुम्से विधा, एथलेक्टीस तर्फको १ हजार ५ मिटर दौड, करातेको काता तर्फको खेल, भलिबल, कबड्डी र उसु तर्फका खेल सम्पन्न भएको छ । प्रतियोगितामा दाङका दशवटै पालिकाका खेलाडीहरुको सहभागिता रहेको छ । आजबाट सुरु भएको खेल तिन दिनसम्म चल्ने छ ।
दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक जग बहादुर नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन प्रतियोगिताको सहजीकरण दाङ खेलकुद पत्रकार मञ्चका अध्यक्ष लक्ष्मण बस्नेतले गर्नुभएको हो ।














