
दाङ । बालबालिकालाई असल र नैतिकवान बनाउन अभिभावकसंगै समाजको पनि भूमिका महत्वपूर्ण हुनेमा सरोकारवालाले जोड दिएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ मजगाउँमा मंगलबार भएको कार्यक्रममा सरोकारवालाले बालबालिकालाई असल बाटोमा लैजानका लागि समाजको पनि भूमिका शसक्त बन्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकालाई
असल बनाउन अभिभावक, विद्यालय र समाजले भूमिका शसक्त बनाउनुपर्ने बताउनुभयो ।
उहाँले फल राम्रो हुन जरा राम्रो हुनुपर्ने भन्दै बालबालिका राम्रो हुन अभिभावक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
अभिभावकक र समाजको रहनसहन र चालचलनले बालबालिकाले धेरै कुरा सिकिरहेको हुँदा बालबालिकालाई असल र नैतिकवान बनाउन अभिभावक र समाजले पनि असल कर्म गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले अभिभावकिय शिक्षाका लागि दाङ भ्याली मावि तुलसीपुरको सहकार्यमा रेडियो हाम्रो पहुँचले सुनौलो भविष्य नामक कार्यक्रम संचालन गरेको पनि बताउनुभयो । बालबालिकालाई विद्यालय पठाएरमात्रै जिम्मेवारी पूरा नहुने भन्दै उहाँले घरमा संस्कार पनि सिकाउनुपर्ने बताउनुभयो ।
यस्तै उत्तर मजगाउँ टोल विकास संस्थाका अध्यक्ष मुक्त बहादुर डाँगीले टोलमा बालबालिकालाई असल कर्ममा लाग्न प्रेरित गरिरहेको बताउनुभयो । गलत बाटोमा लाग्नेलाई सजाय पनि दिने भन्दै उहाँले टोलमा आफ्नो बालबालिकामात्रै नभएर सबैको बालबालिका असल कर्ममा लाग्न प्रेरित गरिरहेको बताउनुभयो ।
यस्तै सचिव धना चौधरीले बालबालिकालाई असल बनाउन अभिभावकले बालबालिकाका लागि पनि समय लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकले बालबालिकालाई विद्यालय पठाएरमात्रै नहुने भन्दै घरमा पनि बालबालिकालाई असल सत्कर्ममा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।