
तुलसीपुर । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा जारी आन्दोलनका कारण देशभरका सामुदायीक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । शिक्षक आन्दोलनका कारण विद्यालयमा पठनपाठ प्रभावित भएपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालयहरू तत्काल सञ्चालन गर्न निर्देशन दिएको छ ।
आज एक सूचना जारी गर्दै उपमहानगरले आन्दोलनरत शिक्षकहरूको जायज मागलाई समाधान गर्नका लागि आवश्यक पहल गर्न सरकालाई अनुरोध गरेको छ । विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइ अधिकार कुण्ठित हुने र सम्पूर्ण शिक्षा क्षत्रमै नकारात्मक असर पर्न सक्ने सूचनामा उल्लेख गरीएको छ ।
२१ दिनदेखि जारी शिक्षक आन्दोलनका कारण शैक्षिक सत्र २०८२ को सुरुवातमै सामुदायिक विद्यालयहरू लामो समयदेखि ठप्प छन् । यसले अभिभावक, विद्यार्थी तथा समुदायमा सामुदायिक विद्यालयप्रति नकारात्मक धारणा उत्पन्न भइरहेको कार्यवाहक नगर प्रमुख स्यानी चौधरीद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख छ ।

‘शिक्षा पाउनु बालबालिकाको अधिकार हो भने शिक्षण गर्नु शिक्षकको दायित्व र जिम्मेवारी हो, यसर्थ, शिक्षकहरूले प्रतिनिधिमूलक रूपमा आन्दोलनमा सहभागी भई विद्यार्थी र अभिभावकको आवश्यकतालाई आत्मसाथ गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उपमहानगरले निकालेको सूचनामा भनिएको छ ।
पालिकाले विद्यालयमा नियमित भर्ना, पठनपाठन लगायतका गतिविधि सुचारु गर्न आग्रह गरेको छ । साथै शिक्षकहरूसँगै अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूलाई आवश्यक समन्वय र सहजीकरणमा सहयोग गर्न अनुरोध गरेको छ ।