२०८२ कार्तिक ३० गते आइतवार

अन्तर्राष्ट्रिय मजदुर दिवसमा आठ जना सञ्चार मजदुर सम्मानित

तुलसीपुर,। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा विभिन्न क्षेत्रमा रहेका सञ्चार मजदुरलाई सम्मान गरिएको छ। प्रेस चौतारी नेपाल दाङको आयोजनामा भएको १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा जिल्लामा विभिन्न क्षेत्रमा कार्यरत सञ्चार मजदुरलाई सम्मान गरिएको हो।

तुलसीपुरमा बिहीबार आयोजित कार्यक्रममा आठ जना सञ्चार मजदुरलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा पत्रिका वितरक(हकर) मिनराज गौतम, कम्प्युटर अपरेटर मोहन चौधरी, दीपक चौधरी, सबिता रोका, गिरीराज तिवारी, सुदीप चौधरी, रेडियो प्राविधिक मनु डिसी र जुनु खड्का रहनुभएको छ।

प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधा सुमन ढकालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। सो अवसरमा प्रमुख अतिथि पाण्डेले विचार, अभिव्यक्ति र स्वतन्त्रताको सुन्दर पक्ष रहेको बताउनुभयो। हरेक मजदुरहरूलाई एकताको सूत्रमा बाँधिनुपर्नेमा उहाँले जोड दिनुभयो। हरेक मानवजातिकाे काम अनुसारकाे दाम,पेशाकाे सम्मानका लागि सबै प्रतिबद्ध रहनुपर्ने बताउनुभयाे। स्वदेश भित्र गरिखाने समुदाय र विचारकाे विकास नहुँदा देशकाे चाैथाे अंगका रूपमा रहेकाे पत्रकारीता पेशापनि चुनाैतीपुर्ण अवस्थामा रहेकाे बताउनुभयाे।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्यले सञ्चार मजदुरका समस्याप्रति संगठन सधैं गम्भीर रहेको बताउनुभयो। पत्रकारिता पेशा आफैँमा स्वतन्त्र र मर्यादित पेशा भएकाले कुनै आग्रह–पूर्वाग्रह नराखी कलम चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी (वर्षात), नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे, ओपेन्द्र बस्नेत, जनजाति पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेमबहादुर राम्जा, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगीत वस्याल लगायतले सञ्चार क्षेत्रमा कार्यरत सबै मजदुरहरू पेशाप्रति मर्यादित र संवेदनशील हुनुपर्ने बताएका थिए। डिजिटल प्रविधिको युगमा हरेक नागरिक सूचनामा उत्तिकै जानकार रहेकाले सत्य–तथ्य सामग्री प्रसारण तथा प्रकाशनमा जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

प्रेस चौतारी नेपाल तुलसीपुर नगर अध्यक्ष बसन्त परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य अरूण नेपालीले गर्नुभएको हो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस