
दाङ, १० जेठ । वर्षायाममा आवागमनमा समस्या हुने देखिएपछि रानीवास खोलामा स्थानीयहरु पुल निर्माणमा जुटेका छन् । दाङको बिजौरी हुँदै रोल्पाको दहबन जोड््ने सडकखण्डमा पर्ने रानीवास खोलामा मोटरेबल पुल नबनेपछि स्थानीयहरु खोला वारपार गर्न अहिले पुल निर्माण थालेका हुन् ।
रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तुलसी पुनमगरको नेतृत्वमा अहिले २९ मिटर लम्बाई र चार फिट चौडाइ भएको पुल निर्माण थालिएको हो । रानीवास खोलामा वर्षायाममा ठुलो खोला आउँदा नागरिकलाई समस्या हुने गरेको छ ।
खोलामा संघ र प्रदेश सरकारबाट मोटरेबल पुल निर्माण हुने आशामा रहेका नागरिकहरु पछिल्लो समय बजेट नै कटौति भएपछि स्थानीय स्रोत साधनको प्रयोग र दाताको सहयोगमा पुल निर्माण थालिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।
यसैक्रममा शनिबार नेकपा माओवादी केन्द्र तुलसीपुर–१९ वडा कमिटीले १०० बोरा सिमेन्ट सहयोग गरेको छ । वडा कमिटी अध्यक्ष दुर्गा बहादुर बिकले पुल निर्माणमा सहयोग पुर्याउन सिमेन्ट सहयोग गरिएको बताउनुभयो । उहाँले पुल निर्माणमा अन्य सहयोग पनि गर्न तयार रहेको बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्र रुण्टीगढी गाउँपालिकाका इन्चार्ज गोविन्द पुनले पुल निर्माणका लागि आफुले फलामजन्य सामग्रि सहयोग गरेको बताउनुभयो । उहाँले पुल सबैको साझा भएकाले विभिन्न ठाउँबाट सहयोग हुनुपर्ने बताउनुभयो । यस्तै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य सीता वलीले पुल निर्माणका लागि परेको बजेट कटौति हुनु दुखद पक्ष रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र सल्यानका सदस्य मानबहादुर बुढाले पुल निर्माणले स्थानीय नागरिकलाई वर्षामा निकै सहजता बनाउने बताउनुभयो । नेकपा माओवादी केन्द्र दाङका जिल्ला समन्वय समिति सदस्य शरण जिएमले सहजीकरण गर्नुभएको हो ।