दाङ । पर्यटकिय क्षेत्रको प्रवद्र्धन र विकासका लागि पत्रकारिता क्षेत्रको भूमिका सशक्त हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् । तुलसीपुर उपमहानगरपालिका पर्यटन प्रवद्र्धन शाखाले शुक्रबार तुलसीपुरको राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा आयोजना गरेको पर्यटन पत्रकारित तालिमको उद्घाटन समारोहमा सरोकारवालाले पत्रकारिताको माध्यमबाटै पर्यटकिय क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका छन् ।
उद्घाटन समारोहमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले दाङको पर्यटन विकासमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले तुलसीपुरमा पनि थुप्रै ऐतिहासिक तथा धार्मिक क्षेत्रको विकासका लागि पत्रकारिता क्षेत्रको भूमिका अझै सशक्त हुुनुपर्ने बताउनुभयो ।
उहाँले तुइ उपत्यकामा मानव कंकालदेखि ग्वारखोलामा ढुंगे हतियारको इतिहासबारे खोज अनुसन्धान गरी बाहिर ल्याउन सके दाङको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने बताउनुभयो ।
यस्तै छिल्लीकोट, चमेरेगुफा, थारु राजाहरुको राज्य सुकौरा लगायतलाई प्रचारप्रसारमा ल्याउन पत्रकारिता क्षेत्रले भूमिका शसक्त बनाउनुपर्ने बताउनुभयो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले पर्यटन क्षेत्रको विकासका लागि पत्रकार र आम संचारको भूमिका सशक्त रहेको बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बिपुल पोखरेलले पर्यटकिय क्षेत्रका विकास र प्रवद्र्धनका लागि पर्यटन पत्रकारिता आवश्यक रहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले गर्नुभएको हो । तुलसीपुरमा क्रियाशिल पत्रकारका लागि पर्यटनसम्बन्धि तालिम प्रदान गरिएको हो ।













