दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्णरूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।
आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।
उक्त सडक खण्डमा ठुला र मालवाहक सवारी साधन भने आजदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालको भनाइ छ । ठुला र मालवाहक सवारी साधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारी साधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिनुभयो ।
चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारी साधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।










