तुलसीपुर। सामुदायिक वनका उपभोक्ताहरूलाई उद्यमशील बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन । सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले उनीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
ग्रिन फाउन्डेसन दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा आजदेखि तुलसीपुरमा सुरु भएको, ७ वटा वडामा रहेका सामुदायिक वनका उपभोक्ता समूहलाई लक्षित ५ दिने उद्यमशीलता विकास तालिममा सहभागी वक्ताहरूले वन स्रोतको दिगो उपयोग गर्दै लघु तथा घरेलु उद्योग, जडीबुटी प्रशोधन, कृषि–वन समन्वयजस्ता क्षेत्रमा उद्यम विकास गर्न सकिने बताएका थिए ।
लामाखोला सामुदायिक वन समूहका सचिव पिमा बुढाथोकीले वन उद्यममा काठ बिक्रीका लागि चाँडै उत्पादन हुने बिरुवा रोपेर पनि आर्थिक आम्दानी गर्न सकिने बताउनुभयो। वन उद्यमसँग जोडिन उपभोक्ता समितिले आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा जानकार हुनुपर्ने उहाँको भनाइ थियो ।
यस्तै, माँन्दे«कोट सामुदायिक वनका खड्कबहादुर बुढाथोकीले वन उद्यमबाट आर्थिक आम्दानीका लागि पहिले कच्चा पदार्थको पहिचान र सीप आवश्यक रहेको बताउनुभयो। उहाँले वनमा पहिचान हुन नसकेका थुप्रै बहुमूल्य चिजहरू सडेर जाने, तर आफूहरूले पहिचान गर्न नसक्दा वनमा आधारित आम्दानी अपेक्षा अनुसार गर्न नसकेको बताउनुभयो ।
संस्थाका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता माधव वलीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो।
तालिम उद्घाटन गर्दै प्रमुख अतिथि वलीले सामुदायिक वनले कच्चा पदार्थ उपलब्ध गराउने भएकाले उपलब्ध सामग्रीको सही व्यवस्थापन र प्रयोगबाट धेरै उपभोक्ताहरूलाई स्वरोजगार बनाउन सकिने बताउनुभयो। त्यसका लागि क्षमता अभिवृद्धि, तालिम, र सरकारी तवरबाट नीतिगत सहजीकरण आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रमा खड्का, वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख कृष्णबहादुर वली, राष्ट्रिय साना शहरी तथा खानेपानी महासंघका अध्यक्ष खेमराज वली लगायतले सामुदायिक वन उपभोक्ताहरूको क्षमता अभिवृद्धि, स्रोत व्यवस्थापन, तालिम तथा सहुलियतपूर्ण लगानीका विकल्पहरूलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो। उनीहरूले सामुदायिक वनले नाफा कमाउने मात्र नभई समाज रूपान्तरणमा योगदान पु¥याउने माध्यम बन्नुपर्ने औंल्याउनुभयो । असार ११ गतेसम्म सञ्चालन हुने तालिमका प्रशिक्षकहरूमा शुरेसकुमार रावत, चक्रमिलन विश्वकर्मा र दिपक परियार रहनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा १०३ वटा सामुदायिक वनहरू रहेका छन्। संस्थाले वडा नं. १३, १४, १५, १६, १७, १८ र १९ मा रहेका सामुदायिक वनबाट सहभागी ४० जना उपभोक्ताहरूलाई दोस्रो चरणको तालिम प्रदान गर्न लागेको हो। यसअघि पहिलो चरणमा १२ वटा वडाका उपभोक्ता समूहका पदाधिकारीहरूलाई तालिम प्रदान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष आशा जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकोे सहजिकरण सचिव जितबहादुर खड्काले गर्नुभएको हो।














