२०८२ माघ ५ गते सोमवार

दाङसहित पश्चिम नेपालका केही ठाउँमा ठूलो वर्षाको चेतावनी


दाङ । दाङसहित पश्चिम नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिसम्म लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

प्राधिकरणले निकालेको सूचनाअनुसार यस अवधिमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर तथा अरू प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

गएराती डडेलधुरा, कैलाली, नवलपरासी, चितवन, धनकुटा, झापा लगायतका ठाउँमा भने अहिले पनि पानी परिरहेको छ । कैलालीको धनगढी एरपोर्ट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकोले त्यो क्षेत्र भइ बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

ठूलो वर्षाका कारण ती ठाउँमा भूक्षय, बाढी, पहिरो, डुबान तथा गेग्य्रान बहावको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्राधिकरणको सल्लाह छ ।

यस अवधिभर अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्न, मौसमी बुलेटिनहरूको अद्यावधिक जानकारी लिन, डुबान हुनसक्ने क्षेत्रका भुइँतलामा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन, नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा सकेसम्म नदी किनारमा नजान, नदी किनारका निर्माण कार्य रोक्न, उच्च जोखिम रहेका जिल्लाका विपद् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले यातायात सञ्चालनबारे आवश्यक निर्णय गर्न तथा त्यसको पालना गर्न र तीनवटै सुरक्षा निकाय, पालिका एवम् स्वयंसेवकलगायत सरोकारवाला निकाय तयारी अवस्थामा रहन प्राधिकरणले भनेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस