
दाङ । दाङमा एक जना वडा सदस्यको निधन भएको छ । राप्ती गाउँपालिकाका वडा नम्बर २ का निर्वाचित वडा सदस्य टेकबहादुर रावतको मंगलबार आज बिहान निधन भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ मुक्तिनगर निवासी ६५ वर्षिय रावतको बिहान साढे ४ बजेतिर आफ्नै निवासमा निधन भएको वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिनुभयो ।
बिहान शौचालयबाट निस्केपछि एक्कासी टाउको दुखेर मुर्छा परेका उहाँको निधन भएको वडा अध्यक्ष चौधरी बताउनुभयो ।
रावतलाई भालुवाङ अस्पताल लगिए पनि उहाँको अस्पताल पुग्नु भन्दा पहिले नै निधन भइसकेको डा. अशोक बेल्वासेले बताउनुभयो । रावतको निधन उच्च रक्तचाप अर्थात हटअट्याकका कारण भएको हुन सक्ने डा. बेल्वासेले बताउनुभयो ।
वडा सदस्य रावतको दुःखद निधन प्रति वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीले शोक व्यक्तव्य जारी गरी मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहरो समवेदना प्रकट गर्नुभएको छ ।
यसैबिच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक र ९ वटै वडाका वडा अध्यक्ष, सदस्य तथा विषयगत शाखाका प्रमुखहरुले समेत दुःख व्यक्त गरेका छन् ।