तुलसीपुर, १८ असार । तुलसीपुरमा महिलाहरूलाई अचार उत्पादनसम्बन्धी सिप विकास गराउने उद्देश्यले सञ्चालन गरिएको तालिम बुधबार समापन गरिएको छ । असार ३ गतेदेखि शुरु भएको तालिम १५ दिनसम्म संचालन भएको हो ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा तुलसी सामाजिक विकास केन्द्रले तालिम संचालन गरेको हो ।
तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओत बहादुर भण्डारी (गणेश) को अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि पाण्डेले उद्यमी बन्न सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाले सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।
‘सिकाइ निरन्तर चलिरहन्छ, त्यसलाई अभ्यासमा उतार्न आवश्यक छ ।’ उहाँले भन्नुभयो–‘हामीले बाटो देखाउने हो, सफलताका सम्बन्धित व्यक्ति नै सक्रिय बन्नुहुन्छ ।’
तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य यमुना परियार र प्रशिक्षक शुसिला थापा मगरले पनि महिलाहरूलाई सिपलाई व्यावसायिक रूपमा प्रयोग गरी आर्थिक रूपले सक्षम बन्न आग्रह गर्नुभयो ।
तालिममा सहभागी तुलसीपुर–६ सुन्दरनगरकी यमुना नेपालीले तालिमबाट धेरै कुराहरू सिक्न पाएको बताउँदै सिकेको कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सिपलाई व्यवसायसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति सदस्य लालमती भण्डारीले तालिमबाट अचार बनाउन सिकेका महिलाहरूलाई व्यवसायिकरूपमा अघि बढ्न नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण तुलसीपुर सामाजिक विकास केन्द्रका सदस्य शुभम देवकोटाले गर्नुभएको हो ।










